परवानीपुर, ६ असोज । वीरगंजमा घटस्थापनाको दिन गहवामाईको पहिलो पटक चुनरी यात्रा निकालिएको छ । सोमवार दिउँसो ३ बजेपछि शुरु भएको चुनरी यात्रा मन्दिरभन्दा पुर्वमा पर्ने दुई नम्बर रोड हुदै विर्ता माई मन्दिर पुगेको थियो । विर्तामाई मन्दिरमा पूजापाठ गरी मकालु चोक हुदै मेनरोड भएर यात्रा मन्दिर परिसरमा पुगेको थियो ।
विश्व हिन्दू परिषद नेपाल वीरगंज महानगर कमिटिद्वारा आयोजित यात्रामा १५१ मिटर लामो चुनरी श्रद्धालु भक्तजनहरुले ओढेर यात्रा गरेका थिए । वीरगंज र नेपालमै सम्भवत यो पहिलो चुनरी यात्रा भएको आयोजक समितिका वीरगंज अध्यक्ष ज्योति रुगंटाले जानकारी गराए । उनका अनुसार दुर्गा माताको हरेक पूजापाठमा चुनरी चढाउने परम्परालाई ब्यापक बनाउन र गहवामाईको मेलालाई अझै भव्य बनाउन यस्तो कार्यक्रम आयोजना गर्ने निर्णय भएको समेत उनले बताए ।
आयोजक समितिकी सदस्य कनिका कौशिकले वीरगंजमा पहिलो पल्ट चुनरी यात्रामा करिब ५ हजार दर्शनार्थी सहभागी भएको आकलन गरिन् । यस्तो गतिविधिले गहवामाईका श्रद्धालुहरुमा नयाँ जोश र उत्साह थपेको उनले बताइन् । अब वीरगंजमा घटस्थापनाको दिन हरेक वर्ष यो कार्यक्रम आयोजना हुने समेत विश्व हिन्दू परिषद् नेपाल वीरगंजका पदाधिकारीहरुले बताएका छ ।
त्यसैगरी,पर्सा बाराको ग्रामिण भेगमा दुर्गा पूजाको चहलपहल बढेको पाइएको छ । आज घटस्थापनाको पहिलोदिन कलश यात्रा निकाली नजिकको नदि,पोखरी तलाउबाट जल भरेर दुर्गा पूजा स्थलमा ल्याएर कलश स्थापना गरिएको छ । धुमधामका साथ विभिन्न गाउँहरुमा दुर्गा पूजाले मधेशी समाजलाई नै अध्यात्मतर्फ अनुसरण गराइरहेको गाउले अगुवाहरुले बताएका छन् ।
दशैमा गाउँमा दुर्गा पूजा आयोजना हुनाले गाउँको वातावरण सफा र अध्यात्मको माहोल रहेको वीरगंज–२१ पटेलनगरका राजन पटेल बताउँछन् । यस्तो धार्मिक पूजापाठमा युवा पिढीको समेत उच्च सहभागिता रहने गरेको उनले बताए । पछिल्लो समय दुर्गा पूजामा नवरात्री व्रत गर्ने महिला–पुरुषा श्रद्धालुहरुमा समेत उलेख्यख वृद्धि हुदै गएको श्रद्धालुहरु बताउँछन् । दुर्गा पूजाको रौनहले अहिले गाउँगाउँमा चहलपहल बढेको देखिन्छ ।