राधेश्याम पटेल
वीरगंज, २० असोज । वीरगंज–२५ श्रीसियास्थित वीरगंज भन्सारमा मातहतको श्रीसिया सुक्खा बन्दरगाह महाशाखामा गएराति काम गरिरहेको अवस्थामा घाइते भई उपचारको क्रममा एकजना कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–७ फूलकौल बस्ने वर्ष ५५ को शम्भु साह तेली रहेका छन् ।
अन्दाजी हिजो साँझ ६ः३० बजेको समयमा बा.०३–००१ ख २६९८ नं.को ट्रकमा मल लोड गरिराखेको अवस्थामा उनलाई चक्कर लागेर बेहोस भएका थिए । त्यसपछि थप उपचारको लागि नारायणी अस्पतालमा लैजाँदा उपचारको क्रममा उनको मृत्यु भएको र शव पोष्टमार्टम गरी परिवारजनले दाहसंस्कार गर्न लगिसकेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी ईश्वर लम्सालले जानकारी गराए ।
उनको मृत्यु हृदयघातबाट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
यसै विषयमा ड्राइपोर्ट भन्सार सञ्चालन गर्ने प्रिन्सिटिन भ्यालीका अधिकारीसँग बुझ्दा निज तेली पटेल लेबर सप्लायर्स ठेकेदार कम्पनी अन्तर्गत कामदार रहेको र घटना भएपछि मृतकको पक्षमा कामदारहरुले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै सोमवार बिहान केही घण्टा गेटमा चक्काजाम गर्दै प्रदर्शनसमेत गरेका थिए । ठेकेदार कम्पनी पटेल लेबर सप्लायर्सको सञ्चालक करण चौधरी र सुरेश पटेल रहेका छन् ।
पर्सा क्षेत्र नं. ३ का निवर्तमान सांसद राजकुमार गुप्ता र बहुदरमाई नगरपालिका–७ का पूर्ववडाध्यक्ष बाबुलाल यादव र वडा नं. ८ का वडाध्यक्ष पुनीलाल साह तेलीलगायतको सहजीकरणमा वार्ता भएको थियो । वार्तामा ठेकेदार कम्पनीले एक साताभित्र नियम अनुसार आवश्यक क्षतिपूर्ति मृतकका परिवारजनलाई उपलब्ध गराउने आश्वासन दिएपछि परिवारजनले शव बुझ्न सहमत भएको प्रिन्स्टिन भ्यालीका सेक्युरिटी सुपरभाइजर धर्मेन्द्र गिरीले जानकारी गराएका छन् ।
Facebook Comments Box