राधेश्याम पटेल
वीरगंज, २३ असोज । वीरगंज महानगरपालिका–१५ भेडियाहीस्थित साउथ सिटी हिमाल हस्पिटलमा गएराति गर्भवती महिला र बच्चाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट, दुर्गाभगवती नगरपालिका–३ भलुवहिया बस्ने अन्दाजी वर्ष २८ की रुबी खातुन रहेकी छन् ।
डेलिभरी (प्रसुति) गराउन बुधवार बिहान ५ बजे अस्पताल भर्ना भएकी रुबीलाई अस्पतालकी गाइने चिकित्सक डा. प्रीति यादवको रोहबरमा उपचार भइरहेको थियो । उनकै लापरवाहीका कारण रुबीको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । नर्मल विधिबाट प्रसुति गराउन खोज्दा गर्भवती खातुन र बच्चाको मृत्यु हुन गएको रुबीका पति महम्मद मुस्ताकले आरोप लगाए ।
सामान्य विधिबाट डिलेभरी गराउन खोज्दा ढिलाइ भएर दुवैजनाको ज्यान गएको परिवारजनको दावी छ । बिहान ५ बजे भर्ना भएको बिरामीलाई नर्मल विधिको साटो शल्यक्रिया गरेर बच्चा निकालेको भए आमा र बच्चाको ज्यान जोगिने मुस्ताकले बताए । डिलेभरी भइरहंदा विशेषज्ञ डा. प्रीति यादव आफ्नो बच्चालाई दुःख खुवाउन हिंडेकोले पनि घटनामा चरम लापरवाही भएको परिवारजनको भनाइ छ ।
नर्मल विधिबाट डेलिभरी गराउँदा नवजात शिशुको टाउको निस्किएको अवस्थामा गर्भवती अचानक बेहोस भएको र बेहोस अवस्थामै रुबीको मृत्यु भएको बताइन्छ ।
अस्पतालका निर्देशक डा. सन्देश यादवले चिकित्सकहरुको तर्फबाट गर्भवती र बच्चाको ज्यान जोगाउने प्रयास हुंदाहुंदै त्यस्तो घटना भएकोमा दुःख व्यक्त गरेका छन् ।
उनले प्रीति यादव इमर्जेन्सीको एटेन्डी डाक्टर भएको र उनकै निगरानीमा रुबीको सुत्केरी गराउने क्रममा मृत्यु भएको प्रतिक्रिया दिए । घटना भइसकेपछि बुधवार राति ८ बजेदेखि बिहीवार मध्याह्नसम्म अस्पताल परिसर अशान्त भएको थियो । परिवारजनले शव बुझ्न नमान्दै बुधवार रातिदेखि नै प्रदर्शन गर्दैआएका थिए ।
रुबीका आफन्तजन र नातेदारहरुले यस घटनाको नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघको सक्रियतामा छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बिहीवार दिउँसो बिरामी पक्ष र अस्पताल पक्षबीच सहमति भएको र रुबीका परिवारजनले शव बुझेर पोष्टमार्टमको लागि लगिसकेको जानकारी गराए ।