वीरगंज, ९ कार्तिक । वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले आइतवार महानगर क्षेत्रभित्रका विभिन्न छठघाटहरूको स्थलगत अनुगमन गरेका छन् । घडिअर्वा पोखरी छठघाट, रानीघाट छठघाट, माईधिया पोखरी छठघाट, श्रीपुर पोखरी छठघाट, र आदर्शनगरस्थित स्वीमिङ पुल छठघाट लगायतका प्रमुख स्थलहरूमा पुगेर तयारी अवस्थाको अनुगमनका क्रममा मेयर सिंहले प्रत्येक घाटमा भइरहेको सफा–सफाइ, सुरक्षा, प्रकाश व्यवस्था, आवत–जावतको सहजता र सरोकारवालाको समन्वय सम्बन्धी कार्यहरूवारे जानकारी लिएका थिए । अनुगमनको क्रममा उनले कमजोरीहरू तत्काल सुधार गर्न, सुरक्षामा विशेष ध्यान दिन तथा सर्वसाधारणले सहज र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने व्यवस्था मिलाउन सरोकारवालालाई निर्देशन दिएका छन् । मेयर सिंहले छठ हाम्रो आस्था, संस्कृति र पहिचानको पर्व हो। यस पर्वमा जनताको सुरक्षालाई सर्वाेच्च प्राथमिकता दिइनेछ। कुनै पनि घाटमा समस्या नहोस् भन्ने उद्देश्यले महानगरले सबै तयारी पूरा गरेको बताए । उनले जनताको विश्वास र सहजीकरण नै हाम्रो मुख्य जिम्मेवारी रहेको र महानगरले सबै छठघाटहरूमा प्रकाश, सरसफाइ, स्वास्थ्य तथा ट्राफिक व्यवस्थापनका लागि विशेष टिम खटाएको बताएका छन् ।
Facebook Comments Box











