राधेश्याम पटेल, १४ कात्तिक/
वीरगंजको सीमावर्ती बजार बिहार राज्यको रक्सौलमा अहिले विधानसभाको चुनावी सरगर्मी ह्वातै बढेको छ । आगामी नोभेम्बर ६ र ११ का दिन गरी दुई चरणमा बिहारमा विधानसभा चुनाव भइरहेको छ । पूरै बिहारमा विधानसभाको कुल २४३ सिटको लागि चुनाव हुन गइरहेको छ । बहुमत ल्याउने पार्टी वा गठबन्धनले आगामी नोभेम्बर १४ का दिन बिहारमा नयाँ सरकार बनाउने दिशातर्फ अघि बढ्नेछ । नेपालको सीमासँग बिहारका २१ वटा विधानसभा क्षेत्र टाँसिएका छन् । चुनाव जति नजीकिंदै गइरहेको छ, उत्तिकै चुनावी माहोल तात्न थालेको स्थानीयहरू बताउँछन् ।
बिहारमा सबैभन्दा बढी चर्चामा रहेको विधानसभा क्षेत्र हो, छपरा । वीरगंजबाट करीब १६५ किलोमिटर दक्षिणमा रहेको छपरामा भोजपुरी कलाकार खेसारीलाल र छोटी कुमारीबीच प्रतिस्पर्धा भइरहेको छ । कलाकार शत्रुघ्न यादव अर्थात् खेसारीलाल यादव महागठबन्धनबाट आरजेडीका उम्मेदवार बनेका छन् भने छोटी कुमारी एनडिएकी उम्मेदवार हुन् । भारतीय एवं विदेशी सञ्चारमाध्यमको पहिलो नजर छपरामा रहेको बुझिएको छ । त्यसपछि बिहारको काराकाट विधानसभा पनि चर्चामा छ । भारतीय जनता पार्टीबाट टिकट पाएर भोजपुरी कलाकार पवन सिंह त्यस क्षेत्रबाट लोकसभा चुनाव लडेका थिए । निजकी पत्नी ज्योति सिंह सोही चुनावी क्षेत्रबाट स्वतन्त्र अर्थात् निर्दलीय उम्मेदवारको रूपमा उभिएकी कारण उक्त क्षेत्रमा पनि राजनीतिक प्रतिस्पर्धा तीव्र छ । अहिले दुवैबीच वैवाहिक सम्बन्ध ठीक छैन, सम्बन्धविच्छेदको मुद्दा अदालतमा चलिरहेको छ । बिहारका अधिकांश विधानसभा क्षेत्र कुनैमा महागठबन्धन र एनडिएबीच प्रतिस्पर्धा छ भने कुनैमा त्रिकोणात्मक चुनावी घमासान रहेको बुझिएको छ ।
रक्सौलमा त्रिकोणात्मक प्रतिस्पर्धा
वीरगंजको भारतीय छिमेकी शहर रक्सौलमा यसपालिको विधानसभा चुनावमा त्रिकोणात्मक चुनावी प्रतिस्पर्धा रहेको बुझिएको छ । एनडिएबाट भाजपा विधायक प्रमोदकुमार सिन्हाले नै टिकट पाएका छन् भने महागठबन्धनबाट जदयूका पुराना नेता रक्सौलबाट पूर्वमा रहेको नरकटिया विधानसभा क्षेत्रका पूर्वविधायक श्यामबिहारी प्रसाद चुनावी प्रतिस्पर्धामा छन् । बिहारमै पहिलोपटक चुनाव लडिरहेको प्रशान्त किशोर (पिके)को पार्टीबाट भेलाही घर भएका जदयूका पुराना नेता कपिलदेव प्रसाद अर्थात् भुवन पटेलले टिकट पाएका छन् । पिके नेतृत्वको जनसुराज पार्टीका उम्मेदवार भुवन पटेलको उम्मेदवारीले रक्सौलमा राजनीतिक तरङ्ग पैदा गरेको छ । नयाँ पार्टी शिक्षा र रोजगारलाई चुनावी एजेन्डा बनाएर चुनावमा होमिएको कारण पिकेको उक्त पार्टीप्रति युवाहरूको आकर्षण बढ्दो देखिएको रक्सौलका मतदाताहरू बताउँछन् ।
रक्सौलका व्यवसायी महेश अग्रवालका अनुसार रक्सौलको चुनावमा काङ्ग्रेस–आरजेडी महागठबन्धनका उम्मेदवार श्यामबिहारी प्रसाद एक नम्बरमा, प्रमोद सिन्हा दुईमा र भुवन पटेल तीन नम्बरमा चुनावी प्रतिस्पर्धामा छन् । रक्सौल विधानसभा क्षेत्रमा करीब दुई लाख ९० हजार मतदाता छन् । चुनाव जित्न ८५ देखि ९० हजार मत आवश्यक पर्छ । गत चुनावमा ३६ हजार बढी मतले चुनाव जितेका प्रमोद सिन्हा हाल खराब छविका कारण यसपालि करीब ४० हजार बढी मतले चुनाव हार्ने व्यवसायी अग्रवाल बताउँछन् । उनले रक्सौलको जनता बिहारमा एनडिएको सरकार बनोस् भन्ने चाहेका छन्, तर टिकट असल उम्मेदवारलाई नदिएको कारण यसपालि रक्सौल विधानसभा क्षेत्रमा हार बेहोर्नुपर्ने उनले बताए । कार्यकर्ताहरू कुराकानी गर्न सिन्हाको घरमा जाँदा उनले अपशब्द बोल्ने गरेकोसमेत उनले आरोप लगाए । त्यसैगरी, भाजपा समर्थक रक्सौलका निहाल गुप्ताले व्यवसायी अग्रवालको आरोपलाई खण्डन गर्दै उक्त आरोप सबै निराधार रहेको बताए ।
आगामी नोभेम्बर १४ तारिखका दिन रक्सौलको नतीजा घोषणा हुँदा वास्तविक उम्मेदवारले बाजी मार्ने गुप्ताले बताए । उनले रक्सौलमा एनडिए उम्मेदवार पूर्वविधायक प्रमोद सिन्हाकै पलडा भारी रहेको जिकिर गरे । नहरचोकमा निर्माणाधीन गण्डक नहरको अधूरो पुलको कामले गर्दा पनि सिन्हाको मत रक्सौलमा घट्ने प्रश्नमा उनले पुलको काम तत्काल सम्पन्न हुने काम नभएकोले चुनावपछि चाँडै उक्त पुलको काम सक्ने आफूले जानकारी पाएको बताए ।
रक्सौलका अर्का व्यवसायी अजय गुप्ताका अनुसार जनसुराजका पटेलको अवस्था पनि मजबूत रहेको छ । चुनावमा उनले पनि सबैलाई चकित पार्ने गरी उलटफेर गर्न सक्ने केहीको अनुमान छ । बिहारमा लामो समयदेखि सत्तामा रहेका भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय जनता दल (आरजेडी)ले जनताका आधारभूत आवश्यकता र विकासका मुद्दामा विफल भएको धारणा मतदाताबीच फैलँदै जाँदा नयाँ राजनीतिक शक्ति जनसुराज पार्टी र भुवन पटेलको लोकप्रियता उल्लेखनीय रूपमा बढेको स्थानीयहरूले बताएका छन् ।











                                    