वीरगंज, १८ कात्तिक । रौतहटको माधव नारायण नगरपालिकामा भ्रष्टाचारको गम्भीर काण्ड उजागर भएको छ । नगर प्रमुख बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
नगरपालिकाको वडा नम्बर ३ का स्थानीय आशितोषकुमार यादवले दायर गरेको उजुरीमा दुवै पदाधिकारीले मिलेमतो गरी नगरपालिकाको बजेटमा व्यापक अनियमितता गरेको आरोप लगाइएको छ । काम नै नगरी नक्कली बिल भरपाई बनाएर लाखौं रकम भुक्तानी गरिएको, प्रशासकीय भवनको टेन्डरमा २० प्रतिशत कमिसन लिएर उपभोक्ता समितिलाई रकम वितरण गरिएको तथा ठूला विकास योजनालाई बढी कमिसन कमाउन टुक्रे–टुक्रे पारेर विभिन्न संघ–संस्थालाई कोटेसन दिई नगरपालिकामाथि अनावश्यक आर्थिक भार थोपरिएको उल्लेख छ ।
यसैगरी, संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानको रकममा पनि फर्जी बिल बनाएर हिनामिना गरिएको तथा सडक बत्ती जस्ता सामग्री न्यून मूल्यमा खरिद गरेर दश गुणा बढी रकम भुक्तानी गरेको खुलासा भएको छ । विभिन्न शीर्षकमा अस्वाभाविक खर्च गरेर सरकारी सम्पत्तिको नोक्सानी पुर्रुयाइएको र फर्जी योजनाहरू सञ्चालन गरिएको दाबी उजुरीमा गरिएको छ ।
उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन बमोजिम तत्काल छानबिन थाल्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । घटनाले स्थानीय तहको पारदर्शिता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ भने जनताको विकासमा खर्च हुनुपर्ने बजेट व्यक्तिगत स्वार्थमा दुरूपयोग भएको स्पष्ट भएको छ । अख्तियारले उजुरी दर्ता गरिसकेकाले अबको अनुसन्धानले सत्यतथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ ।
		Facebook Comments Box
		











                                    