उत्पीडित जनतामाथि अन्याय नगर्न बालेनलाई जेन–जी अलायन्सको खुला आग्रह

वीरगंज , कार्तिक — २३
जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाएको छ।
अलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सरोकारवालासँगको सहमतिको अभावमा बस्ती हटाउने तयारी गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
‘सम्बन्धित समुदायसँगको सहमतिमा न्यायपूर्ण र उपयुक्त व्यवस्थापन अपनाई काठमाडौं महानगरले सबैको साझा सहरको उदाहरण प्रस्तुत गरोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘निहत्था र उत्पीडित जनतामाथि दम्भ, तिरस्कार र बेवास्ताको नीति नगरियोस्।’
अलायन्सले महानगर क्षेत्रभित्र रहेका सुकुम्बासी बस्तीहरूको यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्न पनि माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नक्कली र सक्कली सुकुम्बासीका नाममा बहस भइरहेका छन्। यदि अध्ययन गरिएको छ भने त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।’
अलायन्सले राज्य र स्थानीय निकायले सहमतिको प्रक्रिया अवलम्बन नगरी बस्ती हटाउने कदम लिँदा अझ ठूलो सामाजिक समस्या उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।
सम्बन्धित पोस्टहरुः