सात दलले असंवैधानिक गतिविधिविरुद्ध जनकपुरमा वृहत् प्रदर्शन गर्ने 

मधेस , कार्तिक – २९
मधेस प्रदेशमा नेकपा एमालेका असंवैधानिक गतिविधिविरुद्ध सात दलले शनिबार जनकपुरधाममा वृहत् जनप्रदर्शन गर्ने निर्णय गरेको छ।
शुक्रबार अबेर राति बसेको सात दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, एमालेको गैरकानूनी, गैरसंवैधानिक, गैरनैतिक र गैरराजनीतिक हर्कत विरुद्ध जनतासमक्ष एकजुट भएर जान आवश्यक भएको छ।
नेताका अनुसार, सत्ताको लोभमा एमालेले प्रदेश प्रमुख मार्फत संसदीय दलका नेतालाई गैरकानूनी तरिकाले मुख्यमन्त्री नियुक्त गराएको घटनाक्रमपछि जनप्रदर्शन हुन लागेको हो। त्यसैबीच, सभामुखले पाँचजना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ भने, प्रदेश सभामा सांसदलाई बन्धक बनाएर राख्नु आफैँमा असह्य हर्कत भएको सात दलले बताएका छन्।
सात दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“आफैँमाथि अभियोग लागेको सभामुखले पत्र जारी गरी ५ प्रदेश सभा सदस्यको पद रिक्त भएको सूचना सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण, असंवैधानिक तथा गैरराजनीतिक हरकत हो। सभामुखले प्रदेशलाई मुठभेडमा लैजान खोजेका छन्। यसलाई सच्याउने जिम्मेवारी उनीमाथि नै हुनेछ।”
सात दलले सोमबारदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिँदै प्रदेशमा लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारको रक्षा गर्न जनकपुरमा ठूलो जनप्रदर्शन गर्ने योजना बनाएको बताएका छन्।
सम्बन्धित पोस्टहरुः