वीरगंज, २९ कार्तिक । वीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, पर्साको संयुक्त सहकार्यमा संचालित सफाइ एवं हरियाली संरक्षण अभियान अन्तर्गत शनिवार १५औं दिन पनि सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हरियाली, स्वच्छता र सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरण कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख भोला दाहाल, भारतीय महावाणिज्य दूतावास वीरगंजका प्रमुख डी.एस. मिना, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख पुरन चन्द भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको उपस्थिति थियो। मेयर सिंहले सीमाक्षेत्रको सुरक्षित, स्वच्छ र हरियालीयुक्त वातावरण निर्माणमा सबै क्षेत्रको सामूहिक भूमिका अपरिहार्य रहेको बताए । उनले महानगरले दिगो वातावरणीय सुधारका लागि निरन्तर पहल गरिरहेको बताए । भारतीय दूतावासका प्रमुख डी.एस. मिनाले दुर्ई देशबीचको मैत्रीपूर्ण सम्बन्ध वातावरणीय तथा सीमा क्षेत्रीय व्यवस्थापनबाट झनै मजबुत हुने बताए । अभियान अन्तर्गत सीमाक्षेत्रको सरसफाइ, सडकछेउका झाडी कटान, वृक्षारोपण तथा पुरानै हरियाली संरक्षणका विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। स्थानीयवासीहरूले निरन्तर १५ दिनदेखि जारी अभियानले वातावरणमा आएको साफ–सुगन्धित परिवर्तनप्रति सन्तोष व्यक्त गरेका छन् ।
Facebook Comments Box











