वीरगंज ०१ मंसिर । लायन्स क्लबहरुको संयुक्त आयोजनामा इन्टर–कलेज वादविवाद प्रतियोगिता शुरू भएको छ।
वीरगंजका १० वटा कलेजको सहभागीतामा हुन लागेको यस प्रतियोगितामा प्रत्येक कलेजबाट एक–एक जना विजेतालाई फाइनल राउन्डका लागि छनोट गरिने जानकारी लायन्स क्लब वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले दिए ।
प्रतियोगिताको छनोट चरण अन्तर्गत आज ग्लोबल बिजनेस कलेजमा सामाजिक सञ्जाल – उपयुक्त कि जञ्जाल ? विषयमा वाद–विवाद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा सहभागी ४ जना महिला तथा ४ जना पुरूष विद्यार्थीबीच प्रतिस्पर्धा हुँदै महिला समूहबाट अनुष्का बस्नेत र पुरूष समूहबाट बिनिता कुमारी विजेता घोषित भए । दुवै समूहबाट एक–एक जनालाई फाइनल राउन्डका लागि छनोट गरिएको छ। कार्यक्रमको अध्यक्षता लायन्स क्लब वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ लायन वासु तिमल्सिना, अशोक कुमार बेरिवाल, सन्दीप गुप्ता कानु, उमेश गुप्ता, रचना प्याकुरेल, सर्वन साह लगायतको सहभागिता थियो ।
आयोजकले प्रतियोगिताको आगामी चरणहरू क्रमशः अन्य कलेजहरूमा सञ्चालन गर्दै अन्तिम फाइनल राउन्डमा १० वटा कलेजका उत्कृष्ट वक्ताहरूबीच प्रतिस्पर्धा गराइने जनाएको छ।











