वीरगंज, १ मंसिर । पर्सा जिल्लामा आर्थिक वर्ष २०८१–८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
पर्सा जिल्लाका १४ वटै पालिकाले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामलाई विभिन्न सूचकहरूको आधारमा मुल्यांकन गर्दा ठोरी गाउँपालिकालाई प्रथम, जगरनाथपुर गाउँँपालिका दोस्रो र वीरगंज महानगरपालिका तेस्रो हुन सफल भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । प्रथम,दोस्रो र तेस्रो हुन सफल पालिकालाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
समीक्षा गोष्ठीको समापन सत्रमा बोल्दै प्रमुख अतिथि मधेस प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक सरोजचन्द्र न्यौपानेले मधेस प्रदेशमै परिवार नियोजनको स्थायी साधन प्रयोग गर्ने पुरूषको संख्या न्युन भएको बताए। उनले सभने,‘ हाम्रो प्रदेशमा परिवार नियोजनको साधन प्रयोगको अवस्था कमजोर छ, छोरा मान्छेले भ्याक्सेटोमी नगर्ने समस्या देखियो । त्यसैले अब पुरूषले भ्याक्सेटोमी गर्ने अभियान स्वास्थ्यकर्मीबाटै शुरू गर्न जरूरी छ ।’
स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाले पर्साका स्थानीय तहमा स्वास्थ्यका क्षेत्रमा केही नविनतम अभ्यासहरू भएको बताए ।
पर्साका पालिकाहरूमा गर्भवतीलाई क्याल्सियम चक्की खुवाउने, कम तौल भएको बच्चालाई पोषण सामाग्री दिने, रक्तसञ्चार केन्द्रबाट निश्शुल्क रगत उपलब्ध गराउने, निश्शुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन लगायत नविनतम अभ्यासहरू भएको उनले जानकारी गराए।
कार्यक्रममा ठोरी गाउँँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले कर्मचारीको मेहनतले जिल्लामै ठोरी गाँउपालिका प्रथम स्थान हाँसिल गर्न सफल भएको बताए । उनले जनप्रतिनीधिले कर्मचारीसँग काम लिन सक्नुपर्नेमा जोड दिए ।जगरनाथपुर गाउँँपालिकाका अध्यक्ष श्रीकान्त यादवले स्वास्थ्यकर्मीहरूलाई वनभोजको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।
समिक्षा बैठकमा जिल्लाका सबै पालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा १५ जना स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो ।











