वीरगंज , मंसिर – ३
बारा जिल्लाको प्रशासनले सिमरा विमानस्थल आसपासको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले आज जारी गरेको आदेशमा स्थिति नियन्त्रणमा लिन यो कदम चालिएको उल्लेख गरिएको छ ।
प्रशासनले जनाएको छ कि, विमानस्थल क्षेत्रमा ‘जेन-जेड’ समूहका युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग सम्बन्धित झडप, भिडभाड र तोडफोडका कारण कर्फ्यु आवश्यक परेको हो। कर्फ्यु आदेशमा सरकारी कार्यालय, कर्मचारी, पदाधिकारी र निजी सम्पत्ति सुरक्षित राख्नका लागि हिँडडुल, भेला, जुलुस, सभा वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
कर्फ्यु आज दिउँसो १२:३० बजेदेखि अर्को आदेश नभएसम्म लागू भएको । कर्फ्यु क्षेत्रको सिमाना गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र विमानस्थल वरिपरि २०० मिटरभित्र सीमित गरिएको छ ।
अत्यावश्यक सेवाहरूलाई छुट दिइएको छ । यसमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, प्रेस पास भएका सवारी, सुरक्षाकर्मी, पर्यटक तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमन समावेश छन् ।
प्रशासनले यी सेवाहरूको सहज सञ्चालनका लागि सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको छ ।











