वीरगंज , मंसिर – ३
बारा सिमरा विमानस्थलमा ‘जेन–जेड’ नाममा भेला भएका समूहले मधेश जागरण सभामा सहभागी हुन जाँदै गरेका एमाले नेता महेश बस्नेतलाई अवरोध गरेपछि उत्पन्न तनावलाई लिएर बस्नेतले सरकारप्रति तीव्र आलोचना गरेका छन् ।
बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ५०–६० जनाको अराजक भिड नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिक रूपमा गलत कदम भएको आरोप लगाए ।
उनका अनुसार संविधानले दिएको सभा–सम्मेलन गर्ने र स्वतन्त्र विचार राख्ने जस्ता मौलिक अधिकार हनन गरेर दलगत गतिविधि रोक्ने सरकारको कदम लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ ।
“फागुन २१ मा चुनाव गराउँछु भन्ने सरकारले यस्तो दमनकारी निर्णय लिनु हास्यास्पद भयो,” बस्नेतले बताएका छन् ।
उनले वर्तमान सरकारले लोकतन्त्र, विधिको शासन र सुशासनको खिल्ली उडाएको आरोप लगाउँदै आफ्नो राजनीतिक अभियान यस्ता अवरोधले विचलित नहुने स्पष्ट पारे ।
सिमरा क्षेत्रलाई तनावपछि जिल्ला प्रशासन कार्यालय बाराले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।











