वीरगंज , मंसिर – ४
बाराको सिमरा बजार आज पनि नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको बुधबारको झडपको असरले तनावग्रस्त बनेको छ।
जेनजी युवाहरूले हिजो आफ्नो समूहमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई पक्राउ नगरेको भन्दै आज सडकमा प्रदर्शन थालेका हुन्। प्रदर्शनकारीहरूले टायर बालेर मुख्य सडक अवरुद्ध पार्दा यातायात प्रभावित भएको छ।
झडपका क्रममा दुवैतर्फका केही सामान्य घाइते भएका छन्। केही युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणका लागि पछि हट्नु परेको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले बताए।
‘हिजोको प्रदर्शनको नेतृत्व गरेका केही व्यक्तिलाई हामीले पक्राउ गरिसकेका छौं,’ डीएसपी जोशीले भने, ‘तर आज पनि प्रदर्शन जारी रहेकाले सडक खुलाउन खोज्दा झडप भएको हो।’
प्रदर्शनकारीहरूले पक्राउ परेकालाई सिमरा चोकमा ल्याएर सार्वजनिक गर्नु पर्ने र कारबाही थप कठोर बनाउन सरकारलाई माग गर्दै नारावाजी गरिरहेका छन्। प्रहरीले भने अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाएको जनाएको छ।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षा बल तैनाथ गरेको छ र सर्वसाधारणलाई अफवाहमा नपर्न चेतावनी दिएको छ।











