वीरगंज , मंसिर – ७
मिथिलाक्षेत्रको ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको साताव्यापी राम–जानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’ विधिको तयारी थालिएको छ। बिहीबार जनकपुरधाममा महोत्सव शुरु भएपछि विवाहपञ्चमीअघिल्लो दिन मनाइने मटकोर उत्सवका लागि मटिहानीस्थित लक्ष्मीनारायण मठ सक्रिय बनेको हो।
यस वर्ष विवाहपञ्चमी मङ्सिर शुक्ल पञ्चमीका दिन मंगलबार परेकाले मटकोर सोमबार सम्पन्न हुनेछ। महोत्सवका नगरदर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भइसकेका छन्।
त्रेतायुगदेखि जारी विश्वासको निरन्तरता
लक्ष्मीनारायण मठलाई मिथिलाको नायक मठ मानिन्छ। विश्वास अनुसार त्रेतायुगमा श्रीराम–सीताको विवाहका क्रममा यज्ञवेदी बनाउन यिनै मटिहानीबाट माटो खनिएको थियो। यही धार्मिक परम्पराको स्मरणमा मटकोर विधि आजसम्म निरन्तर चलिआएको मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन्।
उनका अनुसार मटकोरमा मटिहानीका स्थानीयवासीसँगै नेपाल–भारतका साधुसन्तहरूको सहभागिता रहने गर्छ। माटो खन्न जाने महिलाहरू फूल, चामल, बेसार, दही, पान, सुपारीलगायत पूजा सामग्री लिएर बाजागाजासहित भूमि पूजन गर्छन्।
कर्मकाण्डविद् शोभाकान्त झाका अनुसार माटो खन्नुअघि भूमिपूजन गर्ने चलन पृथ्वी देवीसँग अनुमति माग्ने प्रतीक हो। सोही माटोले विवाहको मण्डप, वेदी, देवस्थल र चुल्हो लिपपोत गरिन्छ।
भारतभरबाट साधुसन्तको आगमन
मटकोरसँगै मटिहानीमा भारतीय साधुसन्तहरूको स्वागत, भोजन र आवासको तयारी पनि विशेष रूपमा गरिन्छ। साधुसन्तहरू विवाहपञ्चमीअघिल्लो दिन मटिहानीमा बास बसेर भोलिपल्ट जलेश्वरनाथ महादेवको दर्शन, पिपरामा भोजन र विश्राम गर्दै जनकपुरस्थित रङ्गभूमि चौरमा हुने स्वयम्वर तथा विवाहतर्फ लाग्ने परम्परा छ।
सात दिन सात परम्परा
साताव्यापी महोत्सवमा मिथिलाको सांस्कृतिक जीवन्तता झल्काउने परम्पराहरू समावेश छन्—
• पहिलो दिन : नगरदर्शन — श्रीराम, लक्ष्मण र गुरु विश्वामित्रको जनकपुर आगमनको प्रतीक।
• दोस्रो दिन : फूलबारी लीला — सीता र रामबीच पहिलो दर्शन।
• तेस्रो दिन : धनुषयज्ञ — श्रीरामद्वारा शिवधनुष भङ्ग।
• चौथो दिन : तीलकोत्सव — विवाह निश्चयपछि वरपूजनको प्रतीकात्मक विधि।
• पाँचौँ दिन : मटकोर — यज्ञवेदी निर्माणका लागि पवित्र माटो खन्ने परम्परा।
• छैटौँ दिन : स्वयम्वर तथा विवाह — जनकपुर रङ्गभूमिमा प्रतीकात्मक स्वयम्वर र विवाह।
• सातौँ दिन : रामकलेवा — अयोध्याका जन्तीको बिदाइको प्रतीक।
मिथिलाक्षेत्र उत्सवमय
साताव्यापी विवाह महोत्सवको सुरुआतसँगै जनकपुरदेखि जलेश्वर र मटिहानीसम्मको पूरा क्षेत्र उत्सवमय बन्न पुगेको छ। अयोध्यासहित भारतका विभिन्न प्रान्तबाट साधुसन्त आउने मुख्य प्रवेशद्वार बनेका यी क्षेत्र अहिले धार्मिक, सांस्कृतिक र कूटनीतिक आवागमनले थप चहलपहलमय छन्।
मिटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णका अनुसार यो महोत्सव केवल धार्मिक परम्परा नभई मिथिलाको सांस्कृतिक पहिचान झल्काउने महत्वपूर्ण धरोहर पनि हो।











