वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मंसिर – ९

वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब ८९ करोडको सामान आयात भएको छ । यो मात्रा गत आवको सोही अवधिको तुलनामा ४३ अर्ब ८६ करोडले बढी हो। गत वर्ष यस्तै अवधिमा दुई खर्ब ४१ अर्ब ३ करोडको आयात भएको थियो ।

वीरगंज भन्सार कार्यालयका प्रमुख, भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार आयात मात्र होइन, राजस्व सङ्कलन पनि उल्लेख्य रूपमा बढेको छ । “गत आवको चार महिनाको तुलनामा चालु आवमा आयात र राजस्व दुवैमा वृद्धि भएको छ,” ज्ञवालीले बताए ।

गत वर्ष पहिलो चार महिनामा ६६ अर्ब ७३ करोड राजस्व संकलन भएकोमा चालु आवको सोही अवधिमा ७५ अर्ब ५९ करोड राजस्व उठाइएको कार्यालयले जानकारी दिएको छ।

चार महिनामा वीरगंज नाका हुँदै सबैभन्दा बढी करिब ५४ अर्ब १२ करोड बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ भित्रिएका छन् । त्यस्तै २५ अर्ब ५२ करोडको फलाम तथा फलामजन्य सामग्री, १९ अर्ब ५४ करोडको मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ ।

यसैगरी १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, १६ अर्ब ४ करोडको इलेक्ट्रिक मेसिनरी तथा उपकरण, र १५ अर्ब ४३ करोड मूल्य बराबरको मलखाद समेत आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः