वीरगंज , मंसिर – १०
त्रेतायुगमा भगवान् राम–सीताको विवाहको सम्झनामा धनुषाको जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सव आज समापन हुँदैछ ।
मुख्य दिवस मंगलबार स्वयंवर र वैवाहिक कार्यक्रम सम्पन्न गरिएका थिए। जानकी मन्दिरबाट सीताको डोला र राम मन्दिरबाट भगवान् रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा परम्परागत विधिअनुसार परिक्रमा गराई स्वयंवर सम्पन्न गरिएको थियो ।
स्वयंवरपछि जानकी मन्दिरमा वैदिक विधिअनुसार वैवाहिक संस्कार गरिएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिए ।
सप्ताहव्यापी महोत्सवअन्तर्गत आज भारतबाट आएका पाहुनालाई ‘रामकलेवा’ गरेर विदाइ गरिएपछि विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।











