वीरगंज , मंसिर – १०
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेको छ । १७ नोभेम्बरमा ट्रिब्युनलले ७८ वर्षीय शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमा खान कमाललाई मृत्युदण्डको फैसला सुनाएको थियो ।
अवामी लिगले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत् उक्त फैसला मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले रचेको राजनीतिक ‘षड्यन्त्र’ भएको दाबी गरेको छ । पार्टीका अनुसार हसिना र अवामी लिगलाई आगामी फेब्रुअरीमा हुने भनिएको आम निर्वाचनबाट अलग्याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।
ट्रिब्युनललाई ‘अवैध’ बताउँदै अवामी लिगले फैसला अस्वीकार गरेको छ र अन्तरिम प्रधानमन्त्री युनुसको तत्काल राजीनामा माग गरेको छ । युनुस र उनका सहयोगीमाथि ‘मुक्ति विरोधी’ तथा ‘राष्ट्र विरोधी गतिविधि’मा संलग्न भएको आरोप पनि लगाइएको छ ।
पार्टीले एक्समा भनेको छ, “बंगलादेशमा देखावटी चुनावको अनुमति दिइँदैन, जुनसुकै मूल्यमा पनि हामी यसको विरोध गर्नेछौँ ।”











