वीरगंज , मंसिर – १०
धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेनजी र युवा संघका नेता-कार्यकर्ताबीच झडप भएको छ । बस्नेतको धनगढी आगमनको क्रममा जेनजी युवाहरूले जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए ।
युवासंघका सदस्यहरूले बस्नेतलाई धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गर्दै ल्याएका बेला जेनजी युवाहरूलाई लखेट्दा जेनजी नेता सरिता जोशी घाइते भएकी छन्। उनको हातमा चोट लागेको र निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
धनगढीमा बस्नेतले एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोध प्रदर्शनका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । जेनजी युवाहरूले गुण्डाको विरोध र समावेशी नीतिमा ध्यानाकर्षण गराउँदै विरोध प्रदर्शन जारी राखेका छन् ।











