वीरगंज , मंसिर – १०
चितवनमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न ४३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषधसम्बन्धी मुद्दामा कारबाही गरिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरेर कारबाही अघि बढाइएको खनालले बताए ।
आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । प्रहरीका अनुसार आन्दोलनमा चितवनका ७९ सार्वजनिक संरचना, १६ निजी आवास र व्यावसायिक प्रतिष्ठान तथा तीन पार्टी कार्यालयमा क्षति पुगेको छ ।
घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने काम भइरहेको छ ।











