वीरगंज , मंसिर – १०
सर्वोच्च अदालतमा आगजनी भएको घटनामा संलग्नता रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्व माओवादी नेता विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले नियन्त्रणमा लिएको हो।
ढुंगेलले जेन–जी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। घटना स्थलमा ढुंगेल देखिएको भिडियो तथा तथ्यहरूका आधारमा प्रारम्भिक अनुसन्धानले उनलाई संलग्न ठहर्याएको प्रहरीको दाबी छ।
यसअघि सोही घटनामा आगजनी तथा तोडफोड गरेको आरोपमा झापा भद्रपुर–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर महालक्ष्मीस्थान–५ का ३० वर्षीय सुशील ‘ब्राउन’ श्रेष्ठलाई पक्राउ गरिएको थियो। दुबैजनाले अरुको उक्साहटमा घटना स्थल पुगेको प्रारम्भिक बयान दिएका छन्।
प्रहरी स्रोतका अनुसार घटनाभन्दा अघि र पछि ढुंगेल र ती युवकहरूबीच धेरैपटक सम्पर्कमा रहेको प्रमाण फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। घटना भएपछि ढुंगेल सार्वजनिक रूपमा देखापरेका थिएनन्।











