वीरगंज , मंसिर – ११
अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी विद्यार्थीमाथि फोटो र भिडियोका आधारमा गरिएको पक्राउप्रति आपत्ति जनाएको छ।
समितिका इन्चार्ज निरोज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा संलग्न विद्यार्थीमाथि दमन, गिरफ्तारी र राजनीतिक प्रतिशोधको कार्य तत्काल रोक्न सरकारसँग माग गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो संगठनका पूर्व अध्यक्ष र पूर्व स्ववियू सभापति विष्णु ढुङ्गेललाई सर्वोच्च अदालत जलाउने प्रमुख अभियुक्तको रूपमा देखाई पक्राउ गर्नु घोर भर्त्सना योग्य छ।” ढुङ्गेल सर्वोच्च अदालतमा आगलागीको आरोपमा पक्राउ परेका थिए।
समितिले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन सीडीओ र प्रहरी नेतृत्वमाथि कुनै छानबिन नभएको तर विद्यार्थीमाथि कारबाही सुरु गरिएकोमा असन्तोष व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “भदौ २३/२४ का घटनाहरूको छानबिन आयोगभित्र निष्पक्ष रूपमा हुनुपर्छ। केवल तस्बिर र भिडियो क्लिपका आधारमा गरिएको गिरफ्तारी स्वीकार्य छैन।”
साथै समितिले भदौ २४ मा भएको हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूहमाथि मात्र कानुनी कारबाही हुनुपर्ने र विष्णु ढुङ्गेलसहित अन्य युवा विद्यार्थीलाई तुरुन्त रिहाइ गर्नुपर्ने माग गरेको छ।











