वीरगंज, ११ मंसिर । भारतको बिहार रक्सौलमा थार कार अनियन्त्रित भई दुर्घटना हुँदा एकजना पत्रकारको मृत्यु भएको छ भने केही व्यक्ति गम्भीर घाइते भएका छन् ।
बुधवार राती — रक्सौल–घोडासहन नहर कैनाल सडक नजिक रहेको त्रिलोकीनाथ मन्दिर क्षेत्रमा थार कार अनियन्त्रित भई सडक किनारमा रहेको रेलिङ तोडेर नहरमा खसेको थियो । दुर्घटनामा रक्सौलको रामगढवा निवासी र दैनिक भास्करका पत्रकार तथा शिक्षक रैयाज आलम उर्फ लडडूको घटनास्थलमै मृत्यु भएको छ भने अन्य यात्री गम्भीर घाइते छन् ।
बि.आर ०५पिबि ५९७६ थार कार दुर्घटना लगत्तै आसपासका स्थानीय नागरिक घटनास्थलमा पुगेका थिए र नहरको गहिरो पानी र गाडी क्षतिग्रस्त भए पनि स्थानीयले जोखिम मोलेर यात्रीहरूलाई उद्धार गरेका थिए । रक्सौल प्रहरी र स्थानीय प्रशासनको टोली तथा स्थानीय युवाहरूले गाडीका शिसा र ढोका तोडेर यात्रीहरूलाई निकालेका थिए ।
घाइतेहरूको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि एसआरपी अस्पताल पठाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार गाडी तीव्र गतिमा थियो जसका कारण चालकले नियन्त्रण गुमाएको अनुमान छ। गाडी नहरमा खस्दा यसको अगिल्लो भाग पूरै च्यापिएको बताइएको छ।
दुर्घटनामा गाडीमा सवार चालक दिलीप कुमार, राजकुमार गुप्ता, कुणाल गुप्तालगायत अन्य साथीहरू घाइते भएका छन। रक्सौल थानाध्यक्ष अभिषेक कुमारले घटनावारे जानकारी दिँदै सञ्चारकर्मी रैयाज आलमको मृत्यु भएको पुष्टि गरेका छन ।
रैयाज आलम र उनका साथीहरू विवाह समारोहबाट फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि दीपक कुमार,गणेश शंकर, लव कुमार चौबे, मुनेश राम, रवि कुमार, उदय श्रीवास्तव, विजय गिरी, मनोज कुमार, पत्रकार समाज, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र विभिन्न संघ–संस्थाले शोक व्यक्त गरेका छन।
नेपाल–भारत सहयोग मञ्चका अशोक वैद्य तथा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले पनि गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन।
दुर्घटनामा रक्सौलका पत्रकार आलमको मृत्यु, केही गम्भीर घाइते
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box











