वीरगंज, ११ मंसिर । बारा जिल्लाको कलैया–मलाही सडकखण्ड मर्मतको माग गर्दै नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन संघले बिहीवारदेखि अनिश्चितकालीन सडकबन्द गरेका छन् ।
कलैया–गंजभवानीपुरबीच पसाहा खोलाको पुल नजिक करिब डेढ सय टेम्पु चालकले आफ्ना सवारीसाधन सडकमै रोकेर विरोध जनाएका छन्। यसले यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सडकभरि रहेका खाल्डा–खुल्डी, जोखिमपूर्ण यात्रा र महिनौँसम्म मर्मत नहुँदा चालकहरू आक्रोशित बनेको संघका अध्यक्ष सफिक अन्सारीले जानकारी दिए।
यसअघि प्रमुख जिल्ला अधिकारीमार्फत सडक मर्मतको मागसहित ज्ञापनपत्र बुझाइएको तर माग सुनवाइ नभएपछि चालकहरूले बाध्य भएर सडक बन्द गर्नु परेको आन्दोलनरत एक चालकले बताएका छन् ।
वैकल्पिक मार्ग नहुँदा स्थानीय बासिन्दा, विद्यार्थी तथा दैनिक यात्री प्रभावित भएका छन। विद्यालय जाने विद्यार्थी, अस्पताल जानुपर्ने बिरामी तथा दैनिक कामकाजमा निर्भर नागरिकहरूलाई समस्या बढेको छ।
कलैया–मलाही सडक वर्षाैँदेखि जीर्ण रहे पनि स्थानीय तहदेखि जनप्रतिनिधिसम्मको यस्मा ध्यान नपुगेको टेम्पु चालकहरूले बताएका छन ।
Facebook Comments Box











