राधेश्याम पटेल
वीरगंज, ११ मंसिर ।
भारतको पश्चिम बङ्गाल राज्यमा रहेको कोलकाता बन्दरगाह हालका दिनमा नेपाली व्यापारीलाई आकर्षित गर्न उन्मुख देखिएको छ।
बन्दरगाहमार्फत आउने विभिन्न सामान लोड कन्टेनरहरू समुद्री बाटो भएर नेपाली व्यापारीहरूले कोलकाता बन्दरगाहमा मगाउने गरेकोमा विगत केही वर्षदेखि दक्षिण भारतस्थित विशाखापट्टनम बन्दरगाहबाट पनि मगाउन थालेका थिए। कोलकाता बन्दरगाह दूरीको हिसाबले रक्सौलबाट ७५० किलोमिटर टाढा पर्छ भने विशाखापट्टनम १४०० टाढा पर्छ। लगभग दोब्बर दूरीमा रहेको विशाखापट्टनम बन्दरगाह रोज्नुको प्रमुख कारण कोलकाता बन्दरगाहमा नेपाली व्यापारीहरूसँग भेदभाव गरिनु र भ्रष्टाचार मौलाउनु रहेको थियो।
तेस्रो मुलुकबाट समुद्री बाटो आउने कन्टेनरहरू कोलकाता बन्दरगाहमा अनलोड भएपछि त्यहाँको भन्सारले जाँचपासका लागि चासो नदेखाउने नेपाली व्यापारीहरूको आरोप छ। साथै बन्दरगाहका भन्सार कर्मचारीहरूले समानको वैधता परीक्षण गरेपनि रकम माग गर्ने गरेको आरोप पनि छ। कोलकाता बन्दरगाहमा नेपाली व्यापारीहरू हेपिन र लुटिन थालेपछि उनीहरू विशाखापट्टनम बन्दरगाहतर्फ आकर्षित हुन थालेका थिए। यही क्रममा अहिले कोलकाता बन्दरगाहबाट हुँदै आएको कारोबार ४० प्रतिशतसम्म विशाखापट्टनमतर्फ गएको थियो।
नेपालसँगको व्यापारमा कमी आएपछि कोलकाता बन्दरगाहमा अहिले नेपाली व्यापारीहरूका लागि छुट्टै व्यवस्थापन थालिएको छ। बन्दरगाहका ट्राफिक म्यानेजर रविशङ्कर राजहंसले नेपाली व्यापारीहरूको सामान बन्दरगाहका यार्डमा एकातर्फ सुरक्षित राख्ने व्यवस्था गरिएको र नेपाली कन्टेनरहरूलाई बन्दरगाहबाट चेकजाँचपश्चात् बहिर्गमनका लागि पनि व्यवस्था मिलाइएको बताए। उनले सडकहरूको व्यवस्थापन गरिएको र त्यसबाट नेपाली कन्टेनरहरू बन्दरगाहबाट सहज बहिर्गमन हुने बताए। उनले पछिल्लो समय कोलकाताबाट अन्यत्र गएको व्यापारमध्ये १० प्रतिशत समेट्न सफल भएको र आगामी दिनमा शतप्रतिशत पुनरावृत्ति हुने दाबी गरे।











