पर्सा , मंसिर – १२
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार बिहान श्रोत नखुलेको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहारस्थित मोतीहारी थाना रक्सौल वडा नं. १ बस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। प्रहरीका अनुसार साह मधेश प्रदेश ०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै थिए। उनलाई वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीको यन्त्रणामा चेकजाँच गर्दा साहको मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइएका कुल १० लाख नेपाली रुपैयाँ बरामद भएको छ। बरामद रकममा १,००० रुपैयाँ दरका ७०० थान नोट र ५०० रुपैयाँ दरका ६०० थान नोट रहेका छन्।
पर्सा प्रहरीले साहलाई बरामद रकम र मोटरसाइकलसहित नियन्त्रणमा राखेर थप अनुसन्धान जारी राखेको छ। यसबारे प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।











