वीरगंज, १२ मंसिर । नेपाल मुस्लिम समाज संघ वीरगंज, पर्साले शुक्रवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री सुशीला कार्कीले व्यक्त गरेको भनाइप्रति गम्भीर आपत्ति जनाएको छ ।
संघका अध्यक्ष महबुब अलीले प्रधानमन्त्रीको अभिव्यक्ति कुनै प्रकारको एडिटिङ वा कृत्रिम प्रविधि को प्रयोगबिना नै सत्य रूपमा प्रसारित भएको हो भने उक्त अभिव्यक्तिले गम्भीर प्रभाव पार्ने जनाएको छ ।
नेपाल जस्तो बहुलतावादी र समावेशी मुलुकमा प्रत्येक नागरिकलाई आफ्नो धर्म, भाषा र संस्कृतिसँगै जीवनयापन गर्ने पूर्ण संवैधानिक अधिकार रहेको जनाउँदै उनले संवेदनशील समुदायलाई लक्षित गरी व्यक्त हुने अभिव्यक्तिले सामाजिक सौहार्द, धार्मिक सहीष्णुता र राष्ट्रिय एकतामा दिर्घकालीन नकारात्मक प्रभाव पार्नसक्ने बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा नेपाल मुस्लिम समाज संघले प्रधानमन्त्रीबाट विवादित अभिव्यक्ति वारे तत्काल सार्वजनिक स्पष्टीकरण जारी गर्नुपर्ने, कुनै पनि समुदायमाथि अपमानजनक वक्तव्य दोहोरिन नदिन आवश्यक संवैधानिक र नैतिक मापदण्ड कडाइका साथ पालन गरिनुपर्ने, सामाजिक सद्भाव, धार्मिक सहीष्णुता र संवेदनशील समुदायको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम अविलम्ब अघि बढाउनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा पूर्वमन्त्री करिमा बेगम, शशी कपुर मियाँ, जन्नत अन्सारीलगायत मुस्लिम अगुवाहरूको उपस्थिति थियो।











