पर्सा जिल्लामा सीमावर्ती नाकाबाट अवाञ्छित व्यक्तिको प्रवेश हुन सक्ने आशंकासहित प्रशासनले सुरक्षाका निकायलाई उच्च सतर्कताका साथ परिचालनमा राखेको छ।
जिल्लाका सीमाक्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको सूचनापछि जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा शंकास्पद व्यक्ति वा समूह जिल्ला प्रवेश गरेको देखिएमा सुरक्षित दूरीबाट तुरुन्तै सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरिएको छ।
सामान्य नागरिकलाई पनि त्यससम्बन्धी गतिविधि देखिएमा कुनै प्रकारको हस्तक्षेप वा भिडन्तमा नपरी जानकारी दिन आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा कार्यवाहक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलद्वारा जारी सूचनामा भनिएको छ— “जिल्लाको सुरक्षा संवेदनशीलता आकस्मिक रूपमा बढेकाले सबै पक्षको सहयोग आवश्यक छ। कुनै पनि अपरिचित, शंकास्पद गतिविधि वा व्यक्तिको हिँडडुल देखिएमा तत्क्षण जानकारी गराउन आग्रह गर्दछौँ।”
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हाल सीमाक्षेत्रमा सुरक्षाकर्मीको गस्ती, निगरानी र चेकजाँच थप कडा बनाइएका छन्।









