वीरगंज , मंसिर – १७
राष्ट्रवादी प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन बिच्छालाई पार्टी निर्णय उल्लङ्घन गरेको भन्दै सांसद र मन्त्री दुवै पदबाट हटाइएको छ।
उनी नेकपा (एमाले) नेतृत्वको सरकारले बनाएको मन्त्रीपरिषद्मा कात्तिक २४ गते वनमन्त्री बनेकी थिइन् । पार्टीले तत्कालै मन्त्रालयबाट फिर्ता हुन निर्देशन दिए पनि उनले नमानेपछि स्पष्टीकरण सोधिएको थियो । तर स्पष्टीकरण नआएपछि राप्रपाले उनलाई साधारण सदस्यबाटै हटाइने क्रममा सांसद पदबाट फिर्ता बोलाउँदै पदमुक्त गरेको हो ।
बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने कार्यक्रम भएकाले संसद सचिवालयले पदमुक्तिको सूचना भोलि मात्रै टाँस गरिने जनाएको छ। हाउस–कल भएको दिन पदमुक्त घोषणा गर्न नसकिने नियमका कारण उनी बिहीबार औपचारिक रूपमा बर्खास्त हुनेछिन् ।
यससँगै बिच्छा सांसद र मन्त्री दुवै पदबाट मुक्त भएकी छन् ।








