मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, शुक्रबारसम्म दाबी पेश गर्न आह्वान

मधेश , मंसिर – १७

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत देखाउन सक्ने सदस्यलाई शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिएकाे छ।

आज विश्वासको मत लिनुपर्ने कार्यसूची रहे पनि पर्याप्त मत नपाउने अवस्था आएपछि मुख्यमन्त्री यादवले सदनमै राजीनामा घोषणा गरी प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए।

मधेश प्रदेशसभामा १०७ सदस्य छन्। विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ तर यादवको पक्षमा एमालेसहित २५ सांसद मात्र थिए, जसमा एक निलम्बित छन्।

यादव कात्तिक २४ गते विवादास्पद रूपमा धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए, जसविरुद्ध सात दलका ७४ सांसद सर्वोच्च अदालत पुगेका थिए। यही विवादका कारण प्रदेश प्रमुख सुमित्रा भण्डारी र सभामुख रामचन्द्र मण्डल दुवै पदबाट हटिसकेका छन्।

सम्बन्धित पोस्टहरुः