– राधेश्याम पटेल
वीरगंज । नेपालको सामान तेस्रो मुलुकसम्म आयात–निर्यात गर्न भारतले तीनवटा बन्दरगाहलाई ट्रान्जिट बन्दरगाहको रूपमा स्वीकृति दिएको छ ।
पश्चिम बङ्गालको कोलकाता र हल्दिया तथा आन्ध्रप्रदेशको विशाखापट्टनम (वाइजेग) बन्दरगाह हुन् ।
नेपालको तेस्रो मुलुकको व्यापार हेर्ने हो भने पहिले शतप्रतिशत कारोबार कोलकाता र हल्दिया भएर हुन्थ्यो भने करीब एक दशकदेखि वाइजेग भएर मालसामान आउजाउ गर्ने गरेको छ ।
हाल श्यामाप्रसाद मुखर्जी बन्दरगाह अथोरिटी अन्तर्गत सञ्चालित कोलकाता–हल्दिया बन्दरगाह भएर ७० प्रतिशत र वाइजेग भएर ३० प्रतिशत कार्गो आउजाउ भइरहेको छ ।
पाँच वर्ष अघि कोलकाता र हल्दिया बन्दरगाहका अधिकारी एवं क्लियरिङ एजेन्टहरूको कार्टेलिड्ढो कारण नेपाली व्यवसायी बाध्य भएर वाइजेग गएका थिए ।
त्यसपछि कोलकाता र हल्दियाको शतप्रतिशत कारोबारमध्ये ४० प्रतिशत वाइजेग मोडियो ।
कोलकाता र हल्दिया बन्दरगाहलाई कारोबार फर्काउन ठूलो चुनौती थपियो ।
नेपालको वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह कोलकातासँग करीब साढे सात सय किलोमिटर र हल्दिया करीब ८३२ किलोमिटर दूरीमा छ ।
अहिले कोलकाता बन्दरगाहले नेपाली व्यवसायीको लागि आकर्षित गर्न कार्यप्रणालीमा सुधार गरिरहेको छ ।
अहिले हल्दियाले नेपाली कार्गो ह्यान्डलिड्ढो लागि प्रयास गरिरहेको छ ।
हल्दिया बन्दरगाहका अधिकारीहरूका अनुसार नेपाली व्यवसायीलाई फर्काउन आफूहरूले भरमग्दुर प्रयास गरिरहेको जनाएका छन् ।
हल्दिया बन्दरगाहका प्रशासन प्रमुख तनुकुमार दासले दिएको जानकारी अनुसार अडानी समूहले बन्दरगाहमा भौतिक पूर्वाधार र सुविधा थप्न पछिल्लो समय भारु २९८ करोड अर्थात् भारु तीन अर्बको लगानी गरिरहेको छ ।
भारत सरकारको लगानीमा अडानी समूहले ठेक्का पाएर सन् २०२२ सेप्टेम्बरदेखि काम थालेको हो ।
दुईवटा बर्थ (जहाजबाट सामान लोड–अनलोड गर्ने प्लेटफर्म) निर्माण कार्यको लागि अडानी समूहले ठेक्का पाएर काम गरिरहेको प्रमुख दासले बताए ।
“पहिलेदेखि १२ वटा बर्थ छ, बन्दरगाह करीब २६ वर्गकिलोमिटरमा फैलिएको छ, अहिले दुईवटा बर्थ थपेर सुविधा विस्तार गर्ने योजना छ, जसमध्ये हाल एउटाको काम सकेर डिसेम्बरमै सञ्चालनमा आउन लागेको छ भने अर्को बर्थको आगामी वर्ष निर्माण कार्य पूरा हुनेछ,” उनले भने ।
नेपालसँगको तेस्रो मुलुकको व्यापार पारवहनको लागि जे जति सुविधा बढाउने वा दिनुपर्ने हो हल्दिया बन्दरगाह दिन तत्पर रहेको बन्दरगाह अधिकारीहरू बताउँछन् ।
नेपाली कार्गोको लागि भारतीय सामानको तुलनामा रेल र यार्डको समयसीमा सुविधा बढाइएको बन्दरगाह प्रशासनले जनाएको छ ।
प्रशासन प्रमुख दासका अनुसार, भारतीय आयातकर्ताले मगाएको कोइला २१ दिनमा लोडिङ गरेर लगिसक्नुपर्नेमा नेपाली व्यवसायीको लागि १९० दिनको सीमा दिइएको छ ।
भारतीय व्यवसायीले तीन दिनमा कन्टेनर उठाउनुपर्ने नियम छ भने नेपाली सामानको हकमा २१ दिनको सुविधा रहेको छ ।
अडानी समूहको लगानीपछि नेपाली सामानको लागि छुट्टै बर्थ र यार्डनजीकै रेलवे लाइन बनाउन लागिएको बन्दरगाहले जनाएको छ ।
हल्दिया बन्दरगाह खासगरी कोइला, जिप्सम, क्लिङ्कर, फ्लाइएस, कच्चा तेल, मल, कच्चा पाम तेल, फलामजन्य कच्चा पदार्थको आयात–निर्यातको लागि विशेषतः प्रयोग हुन्छ ।
कोलकातालाई कन्टेनरको लागि बढी ग्राह्यता दिइन्छ भने हल्दिया बल्क कार्गोको लागि प्राथमिकतामा पर्छ ।
नेपाली व्यवसायीले हल्दियाको गोदाम यार्ड रेलवे लिकभन्दा धेरै टाढा रहेकोले ढुवानी भाडा बढी लाग्ने हुँदा हल्दियाबाट मालसामान मगाउन आनाकानी गर्दै आएका थिए ।
तर यी सेवा सुविधा विस्तारपछि हल्दिया बन्दरगाह बल्क र अन्य कार्गो ढुवानीको लागि नेपाल दोस्रो प्राथमिकतारूपमा विकसित हुँदैछ ।
रक्सौल–हल्दिया द्रुतमार्गको पनि योजना अघि बढेकोले आगामी दिनमा वीरगंज–हल्दिया सडकमार्ग कनेक्टिभिटी अझै सहज भई नेपाली व्यवसायीको पारवहन खर्चमा कमी आउने नेपाली व्यवसायीहरूले विश्वास लिएका छन् ।









