वीरगंज , मंसिर १९
मधेस प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन्। प्रदेशसभा सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै बिच्छालाई सदस्य सूचीबाट हटाइएको जानकारी गराएको हो।
राप्रपाले पार्टीको नीति विपरीत गतिविधि गरेको आरोप लगाउँदै उनलाई छ महिनाअघि साधारण सदस्यबाटै निलम्बन गरेको थियो। सोही निलम्बनको आधारमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रदेशसभा सचिवालयमा पुगेपछि उनलाई आधिकारिक रूपमा निष्कासन गरिएको सचिवालयको भनाइ छ।
सचिवालयका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ र प्रदेशसभा सञ्चालन नियमावली २०७५ बमोजिम बिच्छाको सदस्यता खारेज गरिएको हो।
सचिवालयले जारी गरेको सूचनामा प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाको हस्ताक्षर छ।









