अधिग्रहणपछि मुआब्जा नपाउदा पोखरियाका किसान आन्दोलित

वीरगंज , मंसिर – २१

पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनाले साढे दुई वर्षअघि पोखरिया नगरपालिका–१ को जग्गा अधिग्रहण गरेपछि पनि मुआब्जा नदिएको आरोप लगाउँदै प्रभावित किसानहरूले आइतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

किसानहरूका अनुसार आयोजनाले लालपुर्जाको छायाँकपी लिएर जग्गा रोक्का गरे पनि मुआब्जा नपाउँदा उनीहरूको जीवनयापन नै संकटमा परेको छ ।

यसअघि पनि ६ महिना अघि किसानहरूले नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण शाखा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाए पनि कुनै सुनुवाइ नभएको आरोप छ । पीडितहरूका अनुसार अब पनि मुआब्जा नआए सशक्त सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

किसान प्रतिनिधि रमेश ठकुरका अनुसार जग्गा रोक्का हुँदा समुदाय गम्भीर समस्यामा परेको छ ।
“कोही छोराछोरीको बिहे गर्न नसकेर अलपत्र, कोही बच्चा पढाउन नसक्ने, कोही व्यापार–व्यवसाय विस्तार गर्न नसक्ने, घर बनाउने योजना रोकिएको अवस्था छ,” ठाकुरले बताए ।

उनका अनुसार मिर्गाला रोगी पोखरिया–१ का लक्ष्मण ठाकुर उपचारसमेत गर्न नसकेको अवस्था आएको छ । रोक्का परेका जग्गा बेच्न नपाउँदा पैसा जुटाउन नसकिएर उपचार गर्न कठिनाई भएको उनको गुनासो छ ।

किसानहरूले राखे तीन प्रमुख माग

किसानहरूले दिएको ज्ञापनपत्रमा तीन माग समावेश छन्–
1. जग्गा लिने भए तत्काल लिएर मुआब्जा वितरण गर्न, नत्र फुकुवा गरेर किसानलाई फिर्ता दिन।
2. जग्गा अधिग्रहण गर्ने निर्णय भए २०७८ भदौ १४ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार मुआब्जा दिन।
3. उक्त मितिको मूल्याङ्कनमा नेपाल सरकारको नियमअनुसार हरेक्साल १० प्रतिशतका दरले रकम वृद्धि गरी भुक्तानी गर्न।

माग पूरा नभएसम्म प्रसारण लाइन निर्माणका कुनै काम अघि बढ्न नदिने उनीहरुको चेतावनी छ ।

सम्बन्धित पोस्टहरुः