ने.ज.पा का नेता सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की

वीरगन्ज , मंसिर — २१

नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज (सन्तोष पटेल)ले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै घटना सार्वजनिक गरेका छन् । आइतबार वीरगन्ज–३ स्थित माइस्थान मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै उनले नदिन अन्सारी नामका व्यक्तिले भिडियोमार्फत हत्या गर्ने चेतावनी दिएका बताए ।

महाराजका अनुसार आफू लामो समयदेखि हिन्दू समाजका धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय भएकाले केही समूहले आफूलाई टार्गेट बनाइरहेको दाबी गरे । पत्रकार सम्मेलनमा उनले धम्कीपूर्ण भिडियो पनि प्रदर्शन गरे, जसमा मुस्लिम पहिरनधारी युवकले हत्या गरेर भारतको रक्सौलस्थित रेलवे ट्रयाकमा फाल्ने धम्की दिइरहेको देखिन्छ ।

महाराजले आफू पर्सा–२ बाट आगामी निर्वाचनमा उम्मेदवारी तयारीमा रहेको उल्लेख गर्दै यही कारण आफूमाथि दबाब र धम्की आएको आरोप लगाए ।

उनीसँग प्राप्त प्रमाणसहितको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्सा दुवैमा दर्ता भइसकेको छ । घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान सुरु भएको महाराजले पत्रकार सम्मेलनमा जानकारी गराए । महाराजले आफ्नो सुरक्षा व्यवस्थामा कडाइ गर्न तथा धम्की दिने व्यक्तिमाथि तत्काल कारबाही गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् ।

सम्बन्धित पोस्टहरुः