वीरगंज –१९ मा सार्वजनिक जग्गा अवैध कब्जा , भाडा नतिरी सटर सञ्चालन

वीरगंज , मंसिर — २३

वीरगंज महानगरपालिका–१९ बिन्दबासिनी चौकस्थित पूर्व पञ्चायतकालीन सार्वजनिक ऐलानी जग्गा लामो समयदेखि अवैध रूपमा कब्जा गरिएको खुलासा भएको छ । वडा–१९ को कित्ता नम्बर ८२ मा पर्ने करिब ७ कठ्ठा क्षेत्रफलमा बनेका सटरहरू कुनै भाडा नतिरी निजी व्यक्तिले सञ्चालन गर्दै आएका छन्।

एक सटरमा ललन साह कानुले ‘बिन्दबासिनी अनमोल मिष्ठान्न भण्डार’ सञ्चालन गर्दै आएका छन् भने अर्को सटरमा अमित यादवको ‘आरके रिचार्ज सेन्टर’ सञ्चालनमा छ। त्यस्तै, दुई सटरमा अस्थायी प्रहरी पोस्ट बिन्दबासिनी रहेको र एउटा सटर खाली छ ।

श्री बिन्दबासिनी माई युवा क्लबका अध्यक्ष सोनु कुमार गुप्ताले सार्वजनिक सम्पत्तिमा व्यक्तिहरूले अवैध कब्जा जमाउँदै निजी व्यवसाय सञ्चालन गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् । उनले सार्वजनिक जग्गा कब्जा रोक्न महानगरलाई तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

त्यहाँ निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगबिहीन र जीर्ण बनेको छ। शौचालयको सरसफाइ र व्यवस्थापनमा कसैको चासो नरहेको अध्यक्ष गुप्ताको भनाइ छ ।

उता, वडा–१९ का कार्यालय बिन्दबासिनी चौकनजिकै मासिक २५ हजार रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको छ। स्थानीयले वर्षेनी लाखौँ खर्च गर्नुभन्दा त्यही ऐलानी जग्गामा रहेको भवनलाई वडा कार्यालयका रूपमा उपयोग गर्नुपर्ने माग राखेका छन् ।

यसबारे महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखा प्रमुख मनोज कुमार कर्णले सटर तथा जग्गाका उपयोगका लागि टेन्डर प्रक्रिया अहिलेसम्म नआह्वान गरिएको जानकारी दिए । स्थानीयले सार्वजनिक सम्पत्तिको संरक्षण, पारदर्शी व्यवस्थापन र कानुनी आधारमा उपयोग सुनिश्चित गर्न महानगरसँग माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः