वीरगंजमा बेकरी उद्योगहरूको संयुक्त अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट

वीरगंज , मंसिर – २३

वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा गठन गरिएको संयुक्त बजार अनुगमन टोलीले आज महानगरका विभिन्न पाउरोटी तथा बेकरी उद्योगमा अनुगमन गरेको छ ।

अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानिघाटस्थित शिला बेकरी उद्योग, तथा त्यही क्षेत्रमा रहेको लक्की पाउरोटी उद्योग मा निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा सफाइको अभाव, मूल्य सूची नटाँगिएको, व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएको, साथै म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, सानो केक, बर्फी लगायतका सामग्री भेटिएका कारण ती सामग्री जफत गरी तत्काल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

त्यसैगरी, केही उद्योगहरूले बिरगंज महानगरपालिकामा व्यवसाय दर्ता नै नगरेको, तथा केहीले दर्ता नवीकरण नगरेको पुष्टि भएपछि, ७ दिनभित्र महानगर कार्यालयमा उपस्थित भएर आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन गरिएको उपमेयर आलम नेतृत्वको टोलीले जानकारी दिएको छ ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित भुजेल, बिरगंज महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रा, नेहा मिश्रा, सञ्जय महतो, मनोज कुमार दासलगायतको सक्रिय सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरुः