वीरगंज , मंसिर – २३
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली व्यवस्थापनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमबार आयोग परिसरमै उक्त कार्यालयको उद्घाटनसँगै समानुपातिक व्यवस्थापनका तयारी औपचारिक रूपमा सुरु भएका छन् ।
कार्यालयको उद्घाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरे । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगले मंसिर १२ गतेको निर्णयअनुसार सचिव महादेव पन्थ समानुपातिकतर्फका निर्वाचन अधिकृत तोकिएका छन् । सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराई जिम्मेवारीमा रहनेछन् ।
समानुपातिक प्रणालीको सम्पूर्ण व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने आयोगले जनाएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने संवैधानिक व्यवस्था छ ।
उद्घाटन कार्यक्रममा आयुक्त भण्डारीले समानुपातिक प्रणालीका सबै प्रक्रिया यही कार्यालयमार्फत सम्पन्न हुने भएकाले सरोकारवालालाई सहजता हुने बताए । उनले जातीय, भौगोलिक र लैङ्गिक आधारमा समूह छुट्याएर प्रतिनिधि छनोट गर्ने प्रक्रियामा राष्ट्रिय तथ्याङ्क कार्यालयको सहयोग रहने उल्लेख गर्दै निर्वाचनको निष्पक्षता र पारदर्शितामा आयोग पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारे ।









