वीरगंज , मंसिर – २३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई राजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा पार्टीले गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै लिङ्देनले प्रधानमन्त्री कार्कीको काँधमा ठूलो राजनीतिक जिम्मेवारी रहेको उल्लेख गर्दै भने, “तपाईं मध्यावधि चुनावका लागि मात्र प्रधानमन्त्री बन्नुभएको होइन, तपाईंको काँधमा ऐतिहासिक जिम्मेवारी पनि छ। त्यसैले देशलाई निकास दिने उद्देश्यले सर्वपक्षीय सम्मेलन आयोजना गर्नुस्।”
उहाँले राजनीतिक दलहरूलाई पनि आग्रह गर्दै भने, “देशले अब यो भन्दा ठूलो द्वन्द्व बेहोर्न सक्दैन। सबै प्रकारका पूर्वाग्रह, अहंकार र आग्रह त्यागेर सम्झौताका लागि तयार हुनुपर्छ। ठूला दलका नेताहरूले पनि औपचारिक निर्णय गर्दै अघि बढ्न आवश्यक छ।”
लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्दै राजा अभिभावकीय संस्थाको रूपमा रहनु आवश्यक रहेको सुझावसमेत दिएका छन्। उनले भने, “अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था बाहेक विकल्प छैन।”









