वीरगंज , मंसिर – २३
राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) र उज्यालो नेपाल (उनेपा) बीचको पार्टी एकताको प्रयास औपचारिक रूपमा रोकिएको छ। विहीबार बसेको उनेपाको केन्द्रीय समितिको ५औँ बैठकले रास्वपाले ‘राजनीतिक बेइमानी’ गरेको ठहर गर्दै अहिलेलाई एकताको सम्भावना समाप्त भएको निष्कर्ष निकालेको हो।
बैठकमा एक केन्द्रीय सदस्यले भने, “एकपछि अर्को शर्त राख्दै रास्वपाले आफ्नो दुनो मात्र सोझ्याउने काम गरेको बैठकमा सबैको सहमति रह्यो। अब वार्ता गर्नुपरेको खण्डमा सबै जिम्मेवारसहित कुलमानलाई अगाडि सार्ने निर्णय भएको छ।”
बैठकमा कुलमान पनि सहभागी थिए। स्रोतका अनुसार, रास्वपाले पछिल्लो समय जेलमा रहेका नेताहरूलाई भेट्ने र मिडियामा आलोचना गर्ने रणनीति अपनाएको देखिएको छ। उनेपाका नेताहरूका अनुसार, रास्वपाले सहमति नजिक पुगेपनि लगातार बाधा पुर्याउने काम गरेको छ।
उनेपा संगठन विस्तार अभियानमा सक्रिय भएको छ। कर्णाली पुगेका नेता जिताराम लामाले भने, “संवाद प्रक्रिया स्थगित भएको छ। भविष्यमा पुन: कुराकानी हुनसक्छ, तर अहिलेलाई पार्टी निर्माण र संगठन विस्तारमा ध्यान केन्द्रित गरेका छौं।”
दुवै पक्षका केही नेताहरूले संवाद जारी राखेका थिए। रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र पुकार बम, तथा उनेपाबाट गणेश घिसिङ, तारा जोशी र जिता लामालगायतका नेताहरू वार्तामा सहभागी थिए ।
उनेपाका नेताहरूले कुलमानलाई सहसंयोजक बनाएर, रवि लामिछानेलाई सभापति मान्दै एकता गर्न चाहेको भए पनि, रास्वपाभित्रको विवादका कारण सहमति हुन नसकेको बताएका छन्। रास्वपाका नेताहरूले भने, चुनावी तालमेलका लागि संभावना अझै जीवित रहेको र केही नेताहरूले कुलमानलाई उपसभापति दिन तयार रहेको बताएका छन् ।
काठमाडौंका मेयर बालेन साहले पनि रवि र कुलमानबीच मेलमिलाप हुन सुझाव दिएका छन् र आफ्नो समर्थन दिने तयारी देखाएका छन् ।









