काठमाडौँ, २३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ ।
आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । जसमा फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि हार टार्न सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुई/दुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो । सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे । यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।
यता बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई/दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एक/एक विकेट लिए ।
एनपिएलमा ३६ अर्धशतक
राजधानीमा जारी एनपिएलमा अर्धशतकको सङ्ख्या ३६ पुगेको छ । आज सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३६ पुगेको हो । उनले आज विराटनगर किङ्सकाविरूद्ध ४४ बलमा १ छक्का र ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक समेत हो ।
यस सिजनमा ३६ अर्धशतक गर्ने २९ खेलाडी छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।
यस्तै , सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम , रिसि धवन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौँं गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्कवाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।
कर्णालीका मार्कवाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् । रासस








