वीरगंज , मंसिर – २४
भन्सार एजेन्टको आन्दोलनका कारण तीन दिनदेखि अवरुद्ध भएको भन्सार जाँचपास प्रक्रिया आजदेखि पुनः सञ्चालनमा आएको छ । भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घ नेपालबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन रोकिएको हो ।
महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै भन्सार ऐन २०८२ का विवादित प्रावधानबारे विभागले सकारात्मक रचनात्मक छलफल गर्न तयारी देखाएपछि पेनडाउन कार्यक्रम फिर्ता लिइएको जानकारी दिएका छन् । भन्सार विभागले पनि छुट्टै विज्ञप्ति जारी गर्दै दुवै पक्षबीचको वार्ता सफलतापूर्वक सम्पन्न भएको र उठाइएका सरोकारहरुलाई समाधानतर्फ लैजाने प्रतिवद्धता जनाएको छ ।
महासङ्घले नयाँ भन्सार ऐनमा समेटिएका केही प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, कार्य–सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पार्ने भन्दै देशभरका भन्सार कार्यालयहरूमा पेनडाउन कार्यक्रम घोषणा गरेको थियो ।
वीरगञ्ज भन्सारबाट आइतवार सुरु भएको आन्दोलन दोस्रो दिन भैरहवा भन्सार पूर्णरूपमा ठप्प भयो। तेस्रो दिन देशभरका सबै भन्सार कार्यालयका सेवा–प्रवाह अवरुद्ध भएका थिए । सम्झौतासँगै आजदेखि सबै भन्सार कार्यालयमा जाँचपास प्रक्रिया नियमितरूपमा सञ्चालन भएको विभागले जनाएको छ ।








