वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलबस्तीबाट सशस्त्र प्रहरीले ९१ किलो लागू औषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १० वटा पोकामा रहेको ९१ केजी गाँजा बरामद गरेको हो ।
नाम्लो बनाएर ढाडमा गाँजाको भारी बोकेर सीमावर्ती भारततर्फ जाँदै गरेका १० जना भरियाहरूहरुले सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिक्कै गाँजाको पोका फालेर भागेको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले बताए । ती १० वटा पोका नियन्त्रणमा लिएर हेर्दा त्यसमा ९१ केजी गाँजा भेटिएको र बिहीवार इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको उनले जानकारी गराएका छन् ।









