वीरगंज , मंसिर २६
दिव्य विकास स्रोत केन्द्र (डिडिआरसि) पर्साको आयोजनामा ईमानदारी, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने उद्देश्यले १९औं सामाजिक लेखाजोखा कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ। नेपाली सेना व्यारेक नजिक रहेको क्लासिक व्यांक्यूटमा सरोकारवालाहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
संस्थाले सन २००६ देखि मधेशप्रदेशका विभिन्न जिल्लामा दातृ निकायहरूको सहकार्यमा सञ्चालन गरेका गतिविधिहरूको समीक्षा, मूल्यांकन र प्रतिबद्धता नवीकरण एंव कार्यक्रमको मुख्य उद्देश्य बारे कार्यकारी निर्देशक रमाकान्त पटेलले जानकारी गराए । पुरानो दिव्य युवा क्लबबाट रूपान्तरण हुँदै आएका DDRC ले पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी जिल्लाका आधा दर्जनभन्दा बढी पालिकामा स्थानीय अधिकार प्रवर्द्धन, सुरक्षा–न्याय कार्यक्रम, वातावरणमैत्री धुवाँरहित चुल्हो (इन्डक्सन चुल्हो) वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका अध्यक्ष उमेशप्रसाद चौहानको अध्यक्षता र जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरनप्रसाद पटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष सल्मा खातुन, कोषाध्यक्ष देवनाथ ठाकुर, गैर–सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छट्टु साहलगायत वक्ताहरूले संस्थाको गतिविधि र प्रभावकारिताबारे आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए। कार्यक्रममा पत्रकार लक्ष्मी खरेलले सजीकरण गरेकी थिइन् ।








