जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका अभियुक्त चोरीको रकमसहित पक्राउ

वीरगंज , मंसिर – २७

सहकारी तथा वित्तीय संस्थामा चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले नुवाकोटका एक युवकलाई १० लाख २३ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भई हाल काठमाडौं क्षेत्रमा सक्रिय २८ वर्षीय दीपक गजुरेल रहेका छन्। प्रहरीका अनुसार गजुरेलले सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्राभल्स तथा सिनामंगलस्थित राज श्री फाइनान्सबाट रकम चोरी गरेका थिए।

गजुरेल जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका व्यक्ति भएको प्रहरीको भनाइ छ। उनीमाथि यसअघि चोरी, सहकारी चोरी, लागुऔषध तथा अभद्र व्यवहारलगायत २२ पटकसम्म मुद्दा चलेको रेकर्ड रहेको छ।

प्रहरीले उनको साथबाट चोरीको रकम १० लाख २३ हजार ५ सय रुपैयाँ नगद, चोरी गर्दा प्रयोग गरिएको हुडी, स्पोर्ट जुत्ता, चाँदीको धातु, तथा क्यानन क्यामेरा बरामद गरेको जनाएको छ।

पक्राउ परेका गजुरेलमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको काठमाडौं प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः