वीरगंज , मंसिर – २७
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनामै राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ । सशस्त्र प्रहरीले यस अवधिमा भारतीय सीमावर्ती बजारबाट भन्सार छली भित्र्याइएका १३ करोड ६२ लाख ७२ हजार ६९५ रुपैयाँ बराबरका अवैध वस्तु बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सीमा क्षेत्रमा निगरानी कडा बनाएसँगै चोरी–तस्करी नियन्त्रणको परिणाम स्पष्ट देखिन थालेको छ। उनका अनुसार गत आर्थिक वर्षमा करिब २८ करोड ९२ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको थियो भने चालु आवमा यो तथ्याङ्क अझै बढ्ने अनुमान गरिएको छ ।
चालु आवको पाँच महिनामा मात्र बिलविजकभन्दा बढीका ८ करोड ५९ लाख ७२ हजार ७५० रुपैयाँ बराबरका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ। पर्सा जिल्लामा भारतसँग जोडिएको १०७ किलोमिटर खुला सीमालाई ध्यानमा राख्दै तालिमप्राप्त कुकुर, २४ घण्टा गस्ती र प्रविधिको प्रयोगमार्फत तस्करी नियन्त्रणलाई प्रभावकारी बनाइएको भट्टले बताए।
सशस्त्र प्रहरीको सक्रियतासँगै वीरगंज भन्सार कार्यालयको राजस्व संकलन पनि बढेको छ। चालु आवको चार महिनामा भन्सारले ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।
यसै अवधिमा सशस्त्र प्रहरीले ३५० किलो गाँजा, ३०.९८ किलो चरेश नियन्त्रण गर्नुका साथै कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ। विपद् व्यवस्थापनमा पनि सक्रिय भूमिका खेलेको सशस्त्र प्रहरीले गत असोजको बाढीमा सुत्केरी महिलासहित सर्वसाधारणको उद्धार गरेको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक भट्टले सबै सरोकारवालाको सहयोगले पर्सामा चोरी–तस्करी नियन्त्रणमा ठोस प्रगति सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा अझ कडाइ गरिने स्पष्ट पारे ।














