वीरगंज/ वीरगंजमा शनिवार दुई स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । त्रिजुद्ध स्कूलका पूर्वविद्यार्थीहरूको आयोजनामा वीरगंज–३ स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा ५ सय ६ जना लाभान्वित भएका छन् भने १ सय २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरूको आगामी सोमवार वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यकृया गरिने केन्द्रका सञ्चालक महेशसिंह धामीले जानकारी दिए ।
शिविरको उदघाटन वीरगंज महानगरपालिकाका मेयर तथा त्रिजुद्ध माविका वि.सं. २०४२ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थी राजेशमान सिंहले गर्दै शहर तथा बजार क्षेत्रमा समेत मोतियाबिन्दुका बिरामी भेटिनु चिन्ताको विषय भएको बताए। उनले आँखासम्बन्धी रोगको रोकथाम तथा उपचारका लागि महानगरपालिका निरन्तर रूपमा क्रियाशील रहेको जनाए।
शिविरमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, साहिब दरवार वीरगंजका अध्यक्ष उमेशलाल सहनी,सुरज गुप्ता, अवधेश यादव लगायतको पनि सहभागीता रहेको थियो। शिविरमा वीरगंज सामुदायिक आँखा केन्द्रका नेत्ररोग विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले प्राविधिक सहयोग गरेका थिए ।
यसैगरी पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–५ मा स्थित भौराटारमा रहेको श्री नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विद्यालयको प्रारङ्गमा शनिवारदेखि ३ दिने निःशुल्क मोतियाबिन्दु आँखा जाँच शिविर शुरू भएको छ।
जनमुखी युवा क्लब भौराटार पर्साको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र उत्कर्ष नेपालको समन्वयमा मोतिया बिन्दु आँखा शिविर २७ गतेदेखि २९ गतेसम्म संचालनमा भएको जनमुखी युवा क्लबका दुलरचन्द प्रसाद साहले बताएका छन् ।
गरिब तथा विपन्न वर्गहरूको निःशुल्क आँखाको मोतियाबबिन्दु अपरेसन गर्ने उद्देश्यले यो समाजसेवाको काम गरेको क्लबका अध्यक्ष शिवशंकर साहले बताए ।
शिविरमा डा. हेमचन्द्र झा, डा. एलिना, डा. सुशान्त अडिगा, डा. दिप्पी , रूविना श्रेष्ठ, आशिष भट्ट रहेका छन् । शिविरमा छिमेकी देश भारत लगायत विभिन्न पालिकाहरूबाट सेवा लिन आएका छन् ।








