वीरगंजमा एक युवतीको शव झुण्डीएको अवस्थामा फेला : दुई जना पक्राउ

वीरगंज , मंसिर – २८

वीरगंज महानगरपालिका वडा नम्बर –१० स्थित पुरानो बसपार्क पछाडि रहेको त्रिशला रेस्टुराँमा कार्यरत एक युवती मृत अवस्थामा फेला परेकी छन्। रेस्टुराँमा वेटरका रूपमा काम गर्दै आएकी २० वर्षीया सुनिता स्यान्बो झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक सुनिता पर्सागढी नगरपालिका–३ झाब्रा टोलकी हुन्। उनी रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा सङ्घद्वारा सञ्चालित धर्मशालाको कोठा नम्बर १०५ मा झुन्डिएको अवस्थामा फेला परेको पर्सा प्रहरीले पुष्टि गरेको छ ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनालाई आत्महत्याको रूपमा हेरे पनि अन्तिम निष्कर्ष पोस्टमार्टम रिपोर्टपछि मात्र निकालिने छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।

घटनामा संलग्नता हुन सक्ने आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। अनुसन्धान प्रभावित नहोस् भन्नका लागि उनीहरूको नाम सार्वजनिक नगरिएको एसपी पाठकले जानकारी दिए।

सम्बन्धित पोस्टहरुः