वीरगंज , मंसिर – २९
नेपालका लेगस्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन्। बीपीएलको टोली राजशाही वारियर्सले आउँदो सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।
राजशाही वारियर्सको टोलीमा हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि समावेश छन्।
यसअघि सन्दीपले सन् २०१८/१९ सिजनमा सिलेट सिक्सर्सबाट बीपीएल खेल्दै ६ खेलमा ४ विकेट लिएका थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग (बीबीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता विश्वका चर्चित फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेका छन्।
२५ वर्षीय सन्दीप लामिछानेले हालसम्म ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १२९ विकेट लिएका छन् भने समग्र टी–२० क्रिकेटमा १६० खेल खेल्दै २३७ विकेट हात पारेका छन्।







