वीरगंज , मंसिर – ३०
मस्तिष्कघातका कारण भरतपुरमा उपचाररत अग्रज पत्रकार फैजुल्लाह आलमको कमजोर आर्थिक अवस्थालाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बारा शाखाले आर्थिक सहयोग प्रदान गरेको छ । उपचारमा केही राहत मिलोस् भन्ने उद्देश्यले महासंघ बाराले रु २० हजार रुपैयाँको चेक आलमकी श्रीमती सकिना खातुनलाई परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरेको हो ।
चेकमा महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी र कोषाध्यक्ष रञ्जन यादवले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । कोषाध्यक्ष यादवले पत्रकार आलमले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कठिन घडीमा साथ दिनु महासंघको दायित्व भएको बताए ।
महासंघका अध्यक्ष सुवेदीले पत्रकार आलमको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सहयोगका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । साथै, पत्रकार महासंघ मधेशप्रदेश कमिटि र केन्द्रीय कमिटीलाई सहयोग र सहजीकरणको लागि पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे ।















