काठमाडौँ, १ पुसः आइओएफटिसी नेपालको आयोजनामा यही पुस ३ देखि ५ गतेसम्म १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ।
आइओएफटिसी नेपालका संस्थापक तथा निर्देशक दिवाकार महर्जनका अनुसार प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । निर्देशक महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा तय गरेको बताउनुभयो । ‘सन् २००० मा पहिलोपटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो आयोजना गरिएको हो ।
आइओएफटिसी नेपालका अध्यक्ष मीनप्रसाद खनालले १५औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी नेपाललाई पुनः दिइएकामा आइओएफटिसीलाई धन्यवाद दिनुभयो । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्दै आएको छ ।
आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिकाबाहिर आयोजना गर्दै आएको छ । हालसम्म आइओएफटिसीको मुख्य कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण तथा भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण आयोजना भइसकेको छ ।
प्रतियोगिताका अन्तरराष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियनसिपमा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स, बङ्गलादेशलगायत राष्ट्रको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ ।
वल्र्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने आइओएफटिसीको १५औँ संस्करणमा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन् । सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी १०–१० तौल समूह र क्याडेट वर्गमा १०–१० तौल समूहमा खेल खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टोलीतर्फ प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कूल २२२ स्वर्ण पदक, २२२ रजत र ४४४ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्री नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको कूल पुरस्कार राशि रु सात लाख २५ हजार रहेको छ ।
अस्ट्रेलियामा १६औँ संस्करण
नेपाली खेलाडीका लागि यो सन् २०२६ मा अस्ट्रेलियामा हुने १६औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको छनोट पनि हो । यसै प्रतियोगिताबाट अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि खेलाडी चयन गरिनेछ । आइओएफटिसीले १६औँ संस्करण गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकेको छ । सो च्याम्पियनसिपको मिति भने पछि तय गरिनेछ ।
सो प्रतियोगितामा उपस्थिति जनाउन कुकिवनका प्रशिक्षक मिन हाक सिओले नेपाल भ्रमण गर्नुहुनेछ । प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारको आयोजना गरिनेछ । प्रशिक्षक सिओले सो सेमिनार सञ्चालन गर्नुहुनेछ ।














